कोरोना अपडेटः चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या थुप्रै सातासम्म ३,३०० को वरपर रहेकोमा आज त्यो ह्वात्तै बढेर ४,६०० पुगेको छ।
कोरोनाको महामारी सुरु भएको वुहान सहरमा झण्डै ५० प्रतिशतले मृत्यु हुनेको सङ्ख्या बढेको पाइएको हो, बिबिसीले लेखेको छ । अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटना पुष्टि गरिएको हो।
यसबिचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको तथ्याङ्कमा संशय व्यक्त गरेको पाइएको थियो। नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीहरूले यथार्थ विवरणलाई कतै नलुकाइएको बताएका छन्।
सरकारी पत्रिका चाइना डेलीले वुहान नगरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताइएको छ। वुहानका एक करोड १० लाख बासिन्दाहरूले हालै मात्र खुकुलो गरिएको कठोर लकडाउनमा ११ साता बिताएका थिए।







