केही दिन हावाहुरी र चट्याङको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन हावाहुरी र चट्याङको सम्भावना अत्यधिक भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाले बुधबार विशेष बुलेटिन निकालेर उच्च वेगमा हावाहुरी र चट्याङसहित असिना पर्ने सम्भावना देखिएको उल्लेख गरेको छ। ‘६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ।’
भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ। उक्त प्रणाली कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ।
चितवन, मकवानपुर, धादिङ, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरका क्षेत्रमा ६२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा उच्च गतिमा हावाहुरी र चट्याङसहित असिना पानीसमेत पर्न सक्ने महाशाखाले बताएको छ। प्रि–मनुसन ९मनसुन अवधिअघि० का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ।
गृह मन्त्रालयको विपद् प्रतिवेदनका अनुसार अघिल्ला दुई वर्षमा हावाहुरी र चट्याङबाट २ सय ५४ जनाको ज्यान गएको थियो भने ६ सय ५४ जना घाइते भएका थिए। दुई वर्षमा हावाहुरी र चट्याङका ४ सय ३२ वटा घटना भएका थिए। केही वर्षयता हावाहुरी र चट्याङले विपदको ठूलो रूप लिन थालेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार चट्याङ अनुगमन गर्न जल तथा मौसम विज्ञान विभागले देशका ९ स्थानमा लाइटिङ नेटवर्क स्थापना गरेको छ।
‘ती स्टेसनले चट्याङ पार्न मद्दत गर्ने बादल कसरी विकसित भइरहेको छ र कतातिर गइरहेको भनेर पूर्वानुमान गर्न सहयोग गर्छन्,’ पौडेलले कान्तिपुरसित भने, ‘जसले गर्दा सम्भावित चट्याङबारे पनि हामीले फरकास्ट गर्न सक्छौं।’ त्यस्ता स्टेसन काठमाडौंसहित नेपालगन्ज, भैरहवा, सुर्खेत, विराटनगर, ओखलढुंगालगायत स्थानमा छन्। कान्तिपुर दैनिकमा पनि उक्त समाचार प्रकाशन भएको छ ।
जोगिन के गर्ने
– रुखमुनि नबस्ने
– घरमा झ्याल ढोका बन्द गरेर बस्ने
– विद्युतीय सामग्री तथा विद्युत् प्रवाह बन्द गर्ने
– मोबाइल र टेलिफोनको सकभर न्यूनतम प्रयोग गर्ने।
– फलामजन्य धातुबाट बनेको भित्तामा आड नलिने







