प्रधानमन्त्रीको सम्बोधनः केहि समय धैर्य र साहस देखाउन सके महामारीबाट पार पाइन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जोखिम अझै कायमै रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै देशमा जोखिम कायमै रहेकोले महामारीलाई रोकथामका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले क्वारेन्टीन अवधि पूरा गरेका व्यक्तिको पुनः परीक्षण गरिने बताउनुभयो ।
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले केहि समय धैर्य र साहस देखाउन आग्रह गर्नुभयो । यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले विनाशकारी भूकम्पको सम्झना गर्नुभयो ।
उहाँले भन्नुभयो-"पटकपटक लड्नु र धुलो टक्टक्याउँदै उठ्नु मानव जातिकै विशेषता हो । यसपटक समेत यस महामारीबाट पार पाइने छ ।"
प्रधानमन्त्री ओलीले सामान्य वा असामान्य अवस्थामा सरकारका काम विधिसम्मत हुनुपर्ने बताउनुभयो । तर काम नै गर्न नसक्ने अवस्थाको सिर्जना सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने उहाँको भनाई थियो । उहाँले सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा स्वयंसेवीहरूको कामको प्रशंसा समेत गर्नुभयो ।







