खरिपाटी क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबै ९४ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुले नेपालमा यात्रु ल्याएका थिए, सीआईएनले लेखेको छ ।
ति यात्रुहरुलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार हालसम्म १५ सय २९ वटा परीक्षण भएका छन् ।
साथै देशभरी ११३ जना आइसोलेसनमा रहेका छन् । यस्तै, उपत्यकाबाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।







