कोरोना विरुद्ध चिनियाँ मोडलमा तयारी सुरुः आपूर्तिमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस कोभिड १९ विरुद्ध सरकारले चिनियाँ मोडलमा तयारी थालेको बताउनुभएको छ ।
कोभिड १९ को संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने भन्नेबारे चीन सरकारसँग सहकार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
संघीय संसद्का दुवै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आज बसेको बैठकमा मन्त्री भट्टले कोरोना विरुद्ध नयाँ मोडलमा जाने तयारी भएको जानकारी दिनुभयो, सीआईएनले लेखेको छ ।
सुरक्षाकर्मीका अस्पताललाई ठूलो मात्रामा उपचार गर्ने क्षमताका रूपमा अभिवृद्धि गर्न लागिएको मन्त्री भट्टले जानकारी दिनुभयो । मुख्यरूपमा सशस्त्र प्रहरीको अस्पताललाई जिम्मेवारी दिएर अगाडि बढेको पनि मन्त्री भट्टले जानकारी दिनुभयो ।
सेनाले आन्तरिक तयारी पूरा गरेको र प्रदेशहरूमा पनि सुरक्षाकर्मीका अस्पताललाई र सुरक्षा केन्द्रमा अस्पताल बनाउने तयारी भएको जानकारी दिनुभयो । मन्त्री भट्टले कोरोनाको उपचारमा संलग्न हुने चिकित्सकहरूलाई चिनियाँ चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।







