कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

कोरोना भाइरस (कोभिड १९) बारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जाल मार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
साइबर व्यूरोका अनुसार भ्रमपूर्ण अडियो क्लिप आज बिहान आठ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो, सीआईएनले लेखेको छ । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरीले जनाएको हो ।
मगरसँग प्रहरीले विस्तृत बयान जारी राखेको छ । पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए ।
उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गराएका थिए ।







