सीमा नाका कम्तीमा दुई साता बन्द गर्ने सरकारको तयारी

विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्न सरकारले छिमेकी देशसँगका सबै नाकाहरुमा आवतजावत बन्द गर्ने तयारी गरेको छ।
आज शनिबार साँझ ५ बजे कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पुन बैठक बसेर कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्ने तयारी छ । सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाका कम्तीमा दुई साता बन्द गर्ने तयारी गरेको छ। आपूर्ति नरोक्ने तर मानिसको आवतजावत बन्द गर्ने तयारी सरकारले गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको शुक्रबार साँझ बसेको बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए ।
यसअघि शुक्रबार साँझै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सेवा भोलि चैत ९ देखि २१ गतेसम्म बन्द गर्नेलगायतका निर्णय सुनाइसकेका छन्। यस्तै चैत १० देखि लामो दूरीका यातायात बन्द गरिनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा देशका सबै नाका बन्द गर्नेबारे छलफल भएको हो ।
एक देशबाट अर्को देशमा आवतजावतले कोरोना संक्रमण फैलिने जोखिम बढेकाले छिमेकी सबै देशका सीमा नाका बन्द गर्ने विषयमा बैठकमा छलफल भएको सहभागीहरूले जानकारी दिएका छन्।







