हेटौंडा औधोगिक क्षेत्रको प्रवेशद्वार दुबै तर्फ भोलीदेखि हेल्प डेस्क निरन्तर रुपमा संचालन हुने

हेटौंडा औधोगिक क्षेत्रको प्रवेशद्वार दुबै तर्फ भोलीदेखि तापक्रम नाप्ने यन्त्र सहित हेल्प डेस्क निरन्तर रुपमा संचालन हुने भएको छ ।
हेटौंडा औद्योगिक क्षेत्र मकवानपुरमा संचालित करिब १ सय ५० उद्योगमा कार्यरत ६ हजार ५ सय कर्मचारीहरुका लागि स्वास्थ्यप्रती सजग रहँदैै तथा उक्त क्षेत्र हुँदै यात्रा गर्ने स्थानियहरुका लागी हेल्प डेस्क संचालन गर्न थालिएको औधोगिक व्यवस्थापन प्रमुख राजेन्द्र प्रसाद कडेंलका बताउनुभयो ।
वुधबार बिहानदेखि उद्योग संघ मकवानपुरको आयोजनामा औधोगिक क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम संचालन भएको आज अन्तिम दिनसम्ममा करिव ३ हजार पाँच सय जनाको स्वास्थ्य परिक्षण भएको छ । बिहान ७ बजेदेखि संचालित स्वास्थ्य परिक्षण साँझ ४ बजेसम्म संचालन गरिएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र औद्योगिक सुरक्षा बल, हेटौंडाको सहकार्य तथा वि.एन.पि.सपोर्ट सर्भिस प्रा.ली.को प्रायोजनमा गरिएको परिक्षणमा कर्मचारीका साथै स्थानियहरुसहित करिब ७ हजारलाई चेकजाँच गर्ने लक्ष्य लिइएको थियो ।
व्यक्तिगत सरसफाई, कोरोनासम्बन्धि जानकारीका साथै रक्तचाप, श्वासप्रश्वास, ज्वरोलगायतको परिक्षण गरिएको थियो जसवाट कुनै पनि जटिल समस्या भएको पाइएन । स्वास्थ्य परिक्षणमा हेटौंडा अस्पतालका फिजिसियन डा.दोजेन्द्र बस्नेत, डा. सागर काफ्लेसहित १० जनाको टिमले परिक्षण गरिरहेको र निः शुल्क रुपमा औषधिहरु समेत वितरण गरिरहेको छ ।







