बागमती प्रदेशमा प्रेस स्वतन्त्रता प्रतिकुल ऐन, नियम नल्याउने –सभामुख श्रेष्ठ

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रेस स्वतन्त्रतालाई प्रतिकुल हुने खालको कुनै पनि ऐन, नियम बागमती प्रदेश सरकारले नल्याउने स्पष्ट पार्नु भएको छ ।
आफु पनि आन्दोलनकै माध्यमबाट आएकाले पत्रकारहरुलाई अन्दोलीत हुने वातावरण सृजना नगर्ने र परिवर्तनका लागि अब फेरि पत्रकारहरुले संघर्ष गर्ने अवस्था आउन नदिने बताउनुभएको छ । आज हेटौडामा आयोजित नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार ऐन’ विषयक अन्तक्र्रियामा बोल्नुहुँदै उहाँले हाल मुलुकमा राजीनितक व्यवस्था परिवर्तन भएपनि आर्थिक समृद्धि हुन नसकेको भन्दै उहाँले मुलुकका सुशासनको आवश्यकता रहेको बताउनु भयो ।
श्रेष्ठले केन्द्रदेखि स्थानीयतहसम्मै कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको र नेपालमा ऐन, नियम र कानुन कार्यान्वयनको अवस्था फितलो भएको बताउनु भयो । प्रदेशले निर्माण गरेका कानुन राम्रो भएको भन्दै केन्द्रीय सरकारकै कानुन संशोधन गर्नुपर्ने माग उठ्ने गरेको सभामुख श्रेष्ठले बताउनु भयो । प्रदेश सांसदहरुको मुख्यकाम कानुन निर्माण गर्नुपर्ने भएता पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्न भन्दै कानुन निर्माणमा गम्भिर नभएको उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कानुन निर्माण भए नेपालको सञ्चार जगतले त्यस्तो कानुनको अवज्ञा गर्ने बताउनु भएको छ । प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानुनलाई नेपालका पत्रकारले अवज्ञा गर्नसक्ने हैसियत राख्ने भन्दै पोख्रेलले राज्यको चरित्र आफू विरुद्ध आवाज नउठोस भन्ने रहेको धारणा व्यक्त गर्नु भयो ।
उपाध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोजे मुलुकका खतरा हुने चेतावनी दिनु भयो । पत्रकारहरु आन्दोलनमा आउनुनपर्ने गरी कानुन निर्माण गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो । प्रेस स्वतन्त्राको विश्वव्यापी मान्यतालाई ध्यानमा राखेर कानुन बनाउनु उहाँको आग्रह छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, महासंघ केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, द्वारिका काफ्ले, महासंघ बगमती प्रदेश अध्यक्ष प्रताप विष्ट, व्रोकाष्टिङ एशोसीएशन बानका उपाध्यक्ष उज्वल चौलागाई, महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा, महासंघ प्रदेश सल्लाहकार गिरिजा अधिकारी, लगायतकाले आफ्ना धारणा राख्नुभएको थियो ।







