कोभिड–१९ बाट भारतमा एक जनाको मृत्यु भएको पुष्टि

छहारी संवाददाता
फाल्गुन ३०, २०७६

भारतमा कोरोना भाइरस कोभिड–१९ बाट एक जनाको मृत्यु भएको पुष्टि हुनुको साथै दिल्लीका स्कुल, कलेज र सिनेमा हल बन्द गर्ने निर्णय भएको छ । 
गए राति बिहिबार कर्नाटक राज्य सरकारले कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

कर्नाटकको कलबुर्गीका ७६ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट गत मंगलबार मृत्यु भएको राज्य सरकारका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले जानकारी दिएका छन्। भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। गत फेब्रुअरी २९ मा साउदीबाट फर्केलगत्तै ती व्यक्ति बिरामी परेको र मार्च ५ मा कलबुर्गीकै अस्पतालमा भर्ना गरिएको थियो । कर्नाटक सरकारले बुधबारसम्म ती व्यक्तिको मृत्यु कोभिड–१९ को संक्रमणबाट नभएको दाबी गर्दै आएता पनि ती व्यक्तिमा निमोनिया, हाइपरटेन्सन र दमबाट पीडित रहेको नेसनल इन्स्टिच्युट अफ् भाइरोलोजी, पुनेको ल्याब रिपोर्टपछि मात्रै कोभिड–१९ संक्रमणको पुष्टि भएको स्वास्थ्यमन्त्री श्रीरामुलुले जानकारी दिएका छन् ।

आजको कान्तीपुर दैनिक पत्रिकामा समेत उल्लेख गरिए अनुसार कर्नाटक स्वास्थ्य विभागका आयुक्तका अनुसार ती व्यक्तिको मंगलबार नै मृत्यु भए पनि कोभिड–१९ संक्रमणको आशंका मात्रै गरिएको थियो। तर ल्याब रिपोर्टपछि उनको मृत्युको कारण भाइरस संक्रमण नै देखिएको आयुक्तले जानकारी दिन्भएको छ। कर्नाटक सरकारले मृत्यु भएका व्यक्तिको व्यक्तिगत जानकारी खुलाएको आरोपमा कलबुर्गी जिल्लाका प्रमुख स्वास्थ्य अधिकारीलाई निलम्बन पनि गरेको छ।

प्रशासनले ती व्यक्ति को–कोसँग सम्पर्कमा थिए भन्नेबारे अनुसन्धान गरिरहेको र उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्न थालेको पनि कर्नाटक सरकारले जानकारी दिएको छ। मृत्यु हुने व्यक्ति साउदी अरेबियाबाट फर्किर्एको र यसअघि तेलंगानाको एउटा अस्पतालमा उपचार गराएको पनि खुल्न आएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार रातिसम्म भारतमा ५७ भारतीय र १७ विदेशी नागरिकमा कोभिड–१९ को संक्रमण देखिएको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*