२२ हजार बढि युवाले सहुलियतपूर्ण कर्जा लिएको सरकारको दाबी

युवा स्वरोजगारका लागि प्रदान गर्दै आएको सहुलियतपूर्ण ऋण हालसम्म २२ हजार युवाले लिएका सरकारले जनाएको छ ।
युवालाई देशमै स्वरोजगार बनाउन, वैदेशिक पलायन रोक्न र नेपालमै उद्यमशिलताको विकास गर्न भन्दै सरकारले अर्थ मन्त्रालय मार्फत् सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरेको छ ।
कार्यविधि अनुसार हाल युवाले विभिन्न ९ प्रकारका सहुलियतपूर्ण कर्जा पाउने गरेका छन् । प्रत्येक कर्जामा ५ प्रतिशत ब्याज सहुलियत र महिलाको हकमा ६ प्रतिशत ब्याज सहुलियतको व्यवस्था गरिएको छ ।
सहुलियतपूर्ण कर्जा लिएर युवाले गरेका प्रत्येक व्यवसायको राज्यले बीमा समेत गरिदिने गरेको छ । राष्ट्रिय युवा परिषद्का अनुसार बीमाको ७५ प्रतिशत प्रिमियम समेत सरकारले नै तिरिदिने गरेको छ ।
२०७५ साल कार्तिका २० गतेबाट कार्यान्वयनमा आएको यो कार्यक्रम अन्तरगत हालसम्म २२ हजार भन्दा बढी युवाले सहुलियतपूर्ण कर्जा लिएका राष्ट्रिय युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले बताउनुभयो, सीआईएनमा खबर छ ।







