उखु किसानलाई सरकारद्धारा थप ४९ करोड ४९ लाख निकासा

छहारी संवाददाता
फाल्गुन १७, २०७६

उखु उत्पादक किसानलाई सरकारले दिने अनुदान वितरण गर्न अर्थ मन्त्रालयले थप ४९ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको छ ।

विहिबार उखु खेती हुने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई उक्त रकम पठाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले अब स्थानीय तहले किसानलाई रकम वितरण गर्ने बताउनुभयो ।

किसानलाई प्रोत्साहन स्वरुप राज्यले दिने कुल अनुदान १ अर्ब ३३ करोड ५३ लाख १४ हजार रुपैयाँमध्ये ९२ करोड रुपैयाँ यसअघि नै निकासा भएको थियो । गत वर्ष २ करोड ४ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।

उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधी २०७५ अनुसार सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान वितरण गर्ने व्यवस्था छ । तर सर्लाहीका उखु किसानले सरकारसँग भएको सम्झौता अनुसार उखुको भुक्तानी नपाएको बताएका छन् ।

पुस १८ गते आनदोलनरत उखु किसान र सरकारबीच माघ ७ गतेसम्म उखु किसानको सबै रकम भुक्तानी गरिसक्ने सम्झौता भएका थियो ।

सम्झौता अनुसार केहि किसानले भुक्तानी पाए पनि धेरै जसो किसानले भुक्तानी नपाएको सर्लाहीका उखु किसान राम विश्वास रायले बताउनुभयो । सरकारसँगको संझौता अनुसार बक्यौता रकम भुक्तानी नभए फेरि आन्दोलन गर्ने उखु किसानहरुले चेतावनी दिएका छन् । सीआईएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*