बामदेवको बिकल्प नखोज्ने ओली बाहेकका नेताहरूको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी शर्मा ओली इतरका नेताहरूको समूहले राष्ट्रिय सभामा बामदेव गौतमको विकल्प नखोज्ने निस्कर्ष निकालेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको छलफलले त्यस्तो निस्कर्ष निकालेको हो ।
राष्ट्रिय सभामा वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई फेरि सिफारिस गर्ने प्रधानमन्त्री ओलीको चाहना विपरीत समूहले यस्तो निष्कर्ष निकालेको हो, सीआईएनमा खबर छ । प्रधानमन्त्री ओलीले चाहेमा खतिवडालाई ६ महिनाका लागि अर्थमन्त्रीमा निरन्तरता दिने विषयमा भने प्रचण्ड–माधव समूह लचिलो देखिएको छ ।
आज बिहान भएको गोप्य छलफलमा यस्तो निस्कर्ष निकालिएको हो । छलफलपछि प्रचण्ड चितवन पुग्नुभएको छ र बैठकको निर्णयबारे घुमाउरो तरिकाले संकेत गराउनुभएको छ ।
यसैबीच आजै नेता नेपाल र प्रधानमन्त्री ओली बीचमा छलफल भएको छ । नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।







