विकास खर्च गत वर्षको तुलनामा कम छैनः युवराज खतिवडा

छहारी संवाददाता
फाल्गुन १६, २०७६

अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले विकास खर्च गत वर्षको तुलनामा कम नभएको बताउनु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले समग्र मुलुकको एकीकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताउनु भएको हो ।

आर्थिक वर्षको अन्त्यसम्ममा बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने उहाँको दावी थियो । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड अनियमिततासम्बन्धी श्रव्य सामग्रीका बारेमा मन्त्री खतिवडाले सरोकारित र सम्बन्धित निकायले अध्ययन गरिरहेकाले उनीहरूबाट आउने नतिजा पर्खन आग्रह गर्नुभयो ।

राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको उल्लेख गर्दै उहाँले पुस्तक बिक्रीमा धेरै मुलुकले मूल्य अभिवृद्धि कर लगाउने गरेको जानकारी गराउनुभयो, सीआईएन ।

त्यो कर १८ प्रतिशतसम्म रहेको उल्लेख गर्दे अरबौँ रुपैयाँ लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाईएको कर जायज भएको मन्त्री खतिवडाको भनाइ छ ।

राष्ट्र बैँकको गर्भनर नियुक्तिमा भएको ढिलाई बारे सञ्चारकर्मीको जिज्ञासामा चैत ५ भन्दा अगाडि नै नियुक्त हुने उहाँले दावी गर्नुभयो । सरकारले दुईवटा केबलकार आयोजनालाई सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नवलपुर जिल्लाको मौलाकालिका पुग्ने र रुपन्देहीको सिद्धार्थ केबलकार आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*