आरोप प्रमाणित भए बास्कोटालाई कारवाही हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रण खरिदका सम्बन्धमा ७० करोड अनियमितता बारे गरेको कुराकानी प्रमाणित भए कारवाही गर्ने बताउनु भएको छ ।
आज काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्षसमेत रहेका ओलीले यद्यपी बास्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताउनुभयो ।
उहाँले आफू र बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई गलत भएको टिप्पणी गर्नुभएको छ । आफूले बास्कोटाको बचाउ नगरेको दाबी गर्दै उहाँले अनुसन्धानपछि दोषी पाए कारबाही गर्ने बताउनुभयो ।
बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका नेपाली प्रतिनिधिसँग ७० करोड कमिसन मागेको श्रव्य सामग्री केही दिनअगाडि सार्वजनिक भएको थियो ।







