संसदमा सञ्चारमन्त्री बास्कोटाको राजिनामा माग

छहारी संवाददाता
फाल्गुन ८, २०७६

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले यो जानकारी  दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘औपचारिक पत्र त आउने नै छ । अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भूसालले बास्कोटाको बर्खास्तीसँगै कारबाही प्रकृया पछि अगाडि बढाउन माग गर्नुभयो, उज्यालो नेटवर्कमा खबर छ । उहाँले भन्नुभयो, ‘बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन । कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन । यो विषयमा सत्यतथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहान्छ । प्रधानमन्त्रीले सबैले सुन्नेगरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’ 

सभामुख सापकोटाले बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारबाही अगाडि बढाउन माग गरे पनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे मात्रै सुरु भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*