संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दै

छहारी संवाददाता
फाल्गुन ८, २०७६

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकका लागि संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।

आजको बैठकमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिइने कार्यक्रम छ ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, २०७६” पेश गर्नुहुने छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ र “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ, सीआईएनमा खबर छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी मन्त्री पोखरेलले प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

“कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी मन्त्री भुषालले प्रस्ताव प्रस्तुत गर्नुहुने छ । “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*