चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट पोखरामा एक बालिकाको ज्यान गएको छ ।
चितुवाको आक्रमणबाट पोखरा–३२ कोठेडाँडाकी ९ वर्षकी पूजा विकको मृत्यु भएको हो । स्थानीय चन्द्रज्योति आधारभूत विद्यालय कक्षा ३ मा पढ्ने उनी बिहीबार विद्यालयबाट फर्केपछि छिमेकीको घरमा खेल्न गएकी थिइन् ।
साँझसम्म घर नफर्केपछि उनको खोजतलास गर्दा राति ९ बजे घरबाट करिब ३ सय मिटर टाढा जंगलमा शव फेला परेको हो ।
बालिकाको खुट्टा र टाउकोबाहेक अरू सबै अंग चितुवाले खाएको अवस्थामा शव भेटिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो ।
पीडित परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको र केही समयपछि जम्मा १० लाख हुने गरी बाँकी क्षतिपूर्ति प्रदान गरिने बताइएको छ ।







