नेपालीमा पनि कोरोना भाइरस भेटियो, चिनमा हाल्सम्म १७ जनाको मृत्यु

चीनको युवान क्षेत्रबाट नेपाल आएका एक नेपालीमा नोवेल कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर गत जनवरी ९ मा युवानबाट नेपाल आएका ती नेपालीमा नोवेल कोरोना भाइरस भेटिएको पुष्टि भएको जानकारी गराएको हो । कोरोना भाइरसको पुष्टि नेपालमा नहुने भएपछि हङकङ पठाइएको नमुनामा हिजो मात्रै कोरोना भाइरस भेटिएको पुष्टि गराएको थियो । सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरस देखिएका ती व्यक्ति डिस्चार्ज भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, भाइरस भेटिएका ती व्यक्ति लक्षण विहिन भएका छन् र हामीले उच्च निगरानीमा राखेका छौँ । प्रवक्ता श्रेष्ठले थ्रोडस्वाव (घाँटीबाट लिइने पदार्थ) को नमुनालाई हङकङ पठाइएको र उक्त रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने बताउनुभयो । यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले कोरोना भाइरस नियन्त्रण गर्न क्षमताले भ्याएसम्म लाग्ने जानकारी दिँदै अन्य व्यक्तिलाई सर्न नदिनका लागि उच्च सतर्कता अपनाइएको पनि बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख विवेककुमार लालले महाशाखाले भाइरस नियन्त्रणको लागि काम गरिरहेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ जना स्वास्थ्यकर्मी खटाएर परीक्षण भइरहेको बताउनुभयो । प्रभावित क्षेत्र युवानबाट नेपाल फर्किपछि सामान्य परीक्षणका लागि १३ जनवरीमा ती व्यक्ति अस्पताल पुगेका थिए । त्यसपछि ती नेपालीको नमुना परीक्षणका लागि हङकङमा पठाइएको थियो । चीनको युवान शहरबाट देखिएको कोरोना भाइरस अहिले नेपाल सहित जापान, थाईल्याण्ड, उत्तर कोरिया, सिंगापुरमा समेत देखिएको छ ।
विश्वभर कोरोना भाइरसका कारण हालसम्म १७ जनाको मृत्यु भएको र ५ सय ८१ जनामा भाइरस पोजेटिभ देखिएको पुष्टि भइसकेको छ । नोवेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानिसमा पहिलो पटक देखिएको हो । अहिलेसम्म मानिसमा नदेखिएको भाइरस भएकाले यसलाई नोवेल भाइरसको नाम दिइएको हो । यसबारेमा अझै अनुसन्धान हुन नै बाँकी छ । कोरोना भाइरस स्वासप्रश्वासको माध्यमबाट सर्दछ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया हुने र मानिसको मृत्युसम्म गराउँछ । हेल्थपाटीमा खबर छ ।







