आज हुने राष्ट्रियसभा निर्वाचनवाट १८ सदस्य पुर्ति हुँदै

आज विहान १० वजेदेखि राष्ट्रियसभा सदस्यको निर्वाचन सातै प्रदेशमा सुरु हुँदैछ। कुल १८ पदका लागि हुन गईरहेकाे निर्वाचनमा ६ राजनितिक दलका ४५ जना उम्मेदवार विच प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख १ हजार ५ सय ६ समेत गरी २ हजार ५६ मतदाता छन् ।
सातै प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाम मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुदैछ। निर्वाचनका लागि सम्वन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ।
प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ ।
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ।
कार्यकाल पूरा हुने सदस्यहरु
राष्ट्रियसभामा पहिलो २ वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य छन्।
जसमा सरिता प्रसाइ, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।







