युरुङको हत्या गरी ५ वर्षदेखि फरार कमल झ्याप्ले पक्राउ

एक जनाको हत्या गरी झन्डै ५ वर्ष देखि फरार रहेका कमल झ्याप्ले, कमल न्यौपाने भनिने कमल विक पक्राउ परेका छन् ।
२०७१ साल पुष ३० गते धादिङको तिप्लाङ ९ घर भई काठमाडौं गोलढुंगा बस्ने २५ वर्षका युरुङ तामाङको हत्या गरी फरार रहेका विकलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको हो ।
काठमाडौंको टोखा वडा नम्बर १३ दिपज्योतीमा विकले तामाङलाई ढुंगाले टाउकोमा हानेर हत्या गरेको महाशाखाका प्रवत्ता एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
उच्च अदालत पाटनको २०७२ असार २२ गतेको आदेशले १० वर्ष कैद सजाय सुनाइएका विक घटना पश्चात फरार थिए ।
उनलाई महाशाखाको टोलीले हिजो गोंगबु गणेशस्थानबाट पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । उनलाई आवश्यक कार्वाहीको लागि आज अदालतमा पेश गरिएको थियो ।







