हेटौंडाको चौकिटोल–कुख्रेनी बाइपास सडकको मुख्यमन्त्री पौडेलद्वारा अनुगमन

छहारी संवाददाता
माघ ७, २०७६

हेटौंडाको चौकिटोल–कुख्रेनी बाइपास सडकको आज अनुगमन गरिएको छ ।

हेटौंडाको मुख्य बजार क्षेत्रमा सवारी चापलाई कम गर्ने उदेश्यले निर्माण भएरहेको सडकको प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल सहितको टोलीले अनुगमन गरेको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट तर्जुमामा निर्माण भइरहेको चौकिटोलको झोलुङ्गे पुल देखि राप्तीखोला किनार हुँदै कुख्रेनी खोला भएर चुरीयामाईसम्म पुग्ने गरी बाइपास सडक निर्माण भइरहेको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले यस वाइपास सडक निर्माणको कार्य पुरा भएपछी ठुला सवारी साधन सञ्चालन का साथै राप्ती किनारलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

हेटौंडाका मुख्य सडकमा बढ्दो सवारी जाम र ध्वनि प्रदुषणबाट मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै मुख्यमन्त्री पौडेलकै सक्रियतामा वैकल्पिक सडक निर्माण अगाडि बढाइएको हो ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले करिब २२ करोड रुपैयाँ लागत अनुमान गरेर हेटौंडा–१, चौकीटोलदेखि राप्तीपुलसम्म वैकल्पिक सडक बनाउन लागेको हो । यो बाइपासले नदी नियन्त्रण गर्ने र हेटौंडा बजार क्षेत्रको समेत सुरक्षा गर्ने प्रदेश सरकारको योजना छ ।

बागमती प्रदेश सरकारको १३ करोड ८४ लाख लागतमा गत मंसिरदेखि सुरु गरिएको काम दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०७५ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले बाइपास सडकलाई राजमार्गको रुपमा विकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।

साथै हेटौंडा क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडकलाई सडकको दायाँ बायाँ १६–१६ मिटर कायम गर्ने निर्णय पनि गरेको थियो ।

अनुगमनमा संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेशसभाका सदस्य दिपक निरौला लगायतको सहभागिता रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*