नेकपाले अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेता अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज साँझ बसेको बैठकले सापकोटालाई सभामुख बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसअघि आजै बिहान अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको भेटमा नेता सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।
अध्यक्षद्वय बीच भएको सहमतिलाई सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्व माओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो । सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिनुहुन्छ ।
नेकपाबाटै उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपाले आज सभामुखको टुंगो लगाएको हो ।
सभामुखको टुंगो लागेसँगै अब उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुहुने छ । नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ ।
पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो । संसद बैठक सोमबारका लागि पनि तय गरिएको छ ।
आइतबार नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंग्याएसँगै सोमबारका लागि तय भएको संसद बैठक अघि सुरु हुने भएको छ । संसद बैठकमा सभामुख चयन प्रकृया अघि बढ्ने छ ।







