प्रदेश तीनको राजधानी हेटौंडा घोषित, १०५ जना सांसदले गरे हेटौंडाको पक्षमा मतदान

प्रदेश तीनको राजधानी हेटौंडा घोषणा भएको छ । हेटौडाको पक्षमा १०५ र विपक्षमा ३ जना सांसदले मतदान गरेका थिए ।
सभामुख सानुकुमार श्रेष्ठले आजको प्रदेशसभा बैठकबाट हेटौंडा राजधानी भएको घोषणा गर्नु भएको हो । यसअघि प्रदेश सदस्य रमेश पौडेलले प्रदेश तीनको राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्तावमा मतदान गर्नु भएको थियो ।
पौडेलको प्रस्तावको पक्षमा ३ जनाले मतदान गरेका थिए भने १०१ जनाले विपक्षमा मतदान गरेका थिए । प्रदेशको नाम बागमती राख्ने प्रस्तावमा भने सबैको सहमति छ । आजको प्रदेशसभा बैठकमा १०८ जना सांसद उपस्थित थिए ।
हिजोको प्रदेश सभा बैडकमा मुख्यमन्त्री डोरमणी पौडेलको राजधानी हटौंडा राख्ने प्रस्तावमा कांग्रेस प्रदेश तीन संसदीय दलका नेता ईन्द्र बहादुर बाँनीयाले समर्थन गर्नु भएको थियो ।
शनिबार राजधानीको लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रदेशसभामा प्रस्ताव दर्ता भएको थियो ।
यस्तै शनिबार नै प्रदेश ३ को स्थायी राजधानी कोभ्रेको धुलिखेलको लागि विवेकशिलका रमेश पौडेलले प्रस्ताव गर्नुभएको थियो । प्रदेशसभा सदस्य पौडेलको प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थन जनाएका थिए ।







