प्रदेश सभा बैठक शनिवार दिउँसो १ बजे, राजधानी र नाम सम्बन्धि प्रस्ताव बिहान ९ बजे दर्ता हुने

प्रदेश तीनको राजधानी र नामाकरण सम्बन्धि प्रस्ताव भोली दर्ता हुँदैछ ।
प्रदेश तीन प्रदेश सभा बैठक भोली दिउँसो १ बजे बस्दै छ । त्यसअघि बिहान राजधानी र नामाकरण सम्बन्धि प्रस्ताव दर्ता गर्न आधिकारीक सूचना जारी भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले भोली शनिवार बिहान ९ देखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव गर्न प्रदेशसभा सदस्यहरुलाई सूचना गर्नु भएको हो ।
सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गर्नु भएको हो ।
सूचना जारी भएसंगै नेकपाले राजधानी हेटौंडा र नाम वागमतीमा दर्ता गराउने तयारी गरेको छ । नेकपा संसदीय दलको बैठकले निर्णय गरे अनुसार संसदमा नाम बागमती र राजधानी हेटौंडा दर्ता गरिनेछ ।







