प्रदेश तीनको राजधानी हेटौंडा नै उपयुक्तः प्रतिपक्ष दल कांग्रेस नेता बाँनिया

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश तीनका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त हुने बताउनु भएको छ ।
तत्कालिन कांग्रेस नेतृत्वको सरकारले प्रदेशको राजधानी हेटौंडा नै तोकेको भन्दै उहाँले कांग्रेसले राजधानीबारे गरेको निर्णय २ बर्षपछि नेकपाले ठिक ठानेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘हेटौंडा राजधानी सुरक्षाका दृष्टीकोणले पनि उपयुक्त छ । सेना, प्रहरीको कार्यालय पनि यही छ । संघीयताको अवधारणामा किन हेटौंडा राजधानी तोकियो भन्नेकुरा वुझ्न जरुरी छ ।’
विगतमा पनि मध्यमाञ्चल विकास क्षेत्रको केन्द्र रहेको हेटौँडा जनता र सांसदहरुका लागि भन्दा पनि देशकै लागि आवश्यक रहेको उहाँले बताउनुभयो ।
आजबाट सुरु भएको प्रदेश तीनको हिउँदे अधिवेशनमा नेता बाँनियाले नेकपाले आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने प्रक्रिया गलत भएको धारणा राख्नुभयो ।
संविधानले ३ तहको स्पष्ट कामको विभाजन गरेको भन्दै उहाँले भन्नुभयो–'नेकपाले प्रदेश संसदीय दललाई निर्देशन दिनु प्रक्रियागत रुपमा गलत छ । राजधानी र नाम केन्द्रबाटै भन्नु पर्ने भए जनतालाई २ बर्षसम्म किन अन्यौलमा राखियो ।'
सबैले आफ्नो घर र आँगन अगाडि राजधानी खोजेर नपाउने भन्दै कांग्रेस नेता बाँनियाले रणनीतिक अवस्थालाई हेर्नुपर्नेमा जोड दिनुभयो । संघीयतालाई पुरानै अवस्था फर्काउने खेल भईरहेको हुन सक्ने भन्दै कांग्रेसले जिम्मेवारी पूर्वक आफ्नो भुमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।







