इन्द्रसरोवरमा प्याराग्लाइडिङको सफल परीक्षण गर्दै पर्यटन वर्ष सन् २०२० को स्वागत (तस्विरहरु)

छहारी संवाददाता
पुस १६, २०७६

प्रदेश तीन सरकारले मकवानपुरको पर्यटकीय गन्तव्य इन्द्रसरोवरमा प्याराग्लाइडिङको सफल परीक्षण गर्दै पर्यटन वर्ष सन् २०२० को स्वागत गरेको छ ।

मानवनिर्मित इन्द्रसरोवरबाट पर्यटन वर्षमा व्यवसायीक उडान गर्ने गरी आज प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले अहिले प्याराग्लाइडिङको परीक्षण उडान मात्र गरिएको भएपनि पर्यटन वर्षलाई लक्षित गरी आवश्यक प्रक्रिया पुरा गरेर व्यवसायीक उडान सुरु गर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो– 'संघिय राजधानीबाट समेत नजिक रहेको यस ठाउँमा कम्तिमा २ दिन घुम्न र रामाइलो गर्न सक्ने पूर्वाधार विकास गर्दैछौं । त्यसैले इन्द्रसरोवर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्ने योजना छ ।' 

यसैबीच प्याराग्लाइडर विशाल लामाले प्याराग्लाइडिङले पर्यटक तान्ने प्रचुर संभावना रहेको भन्दै इन्द्रसरोवरको करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको बताउनु भयो ।

प्याराग्लाइडर विशाल लामा, पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले आज माला लगाएर स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा लामा लगायतको आतिथ्यता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*