प्रदेश तीनका मुख्यमन्त्री पौडेललाई अपशब्द बोल्ने एक जना प्रहरीको नियन्त्रणमा

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेललाई अपशब्द बोल्ने एक जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंले आज नियन्त्रणमा लिएको हो ।
मुख्यमन्त्री पौडेललाई फोन मार्फत अपशब्द बोल्ने पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
एसपी सिंहले पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिँदै पाण्डे माथी मुद्दा चल्ने नचल्ने विषयमा भोली टुंगो लाग्ने बताउनुभएको छ ।
पाण्डेले हिजो मुख्यमन्त्री पौडेलका स्वकिय सचिव अनुप पौडेललाई फोन गरी मुख्यमन्त्रीको विषयमा अपशब्द प्रयोग गरेका थिए । स्वकिय सचिव पौडेलको जानकारीका आधारमा पाण्डेलाई पक्राउ गरिएको एसपी सिंहले बताउनुभयो ।







