बाल विवाह रोक्न सबैले पहल गर्नुपर्नेमा जोड 

छहारी संवाददाता
मंसिर २१, २०७६

बाल विवाह रोक्न सबै निकाय सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बालक्लब, अधिकारकर्मी र सरोकारवाला निकाय सबै बालविवाह रोक्न सचेत हुनपर्ने उनीहरुले बताएका हुन् । विवाहको लगन भएको समयमा बाल विवाह हुने सम्भावना भएकाले सबै निकाय सचेत हुनुपर्ने शिक्षिका बनिता शर्माले बताउनुभयो ।

बालबालिकाले सबैभन्दा धेरै समय बिताउने अविभावक र शिक्षक शिक्षिका भएकाले आफैं विवाह गर्ने समस्या समाधानको लागि उनीहरूलाई आवश्यक परामर्श दिनु जरुरी रहेको बाँकेको एउटा बाल क्लबमा आवद्ध चेतना केसी बताउनुहुन्छ ।

परिवारको दवाब, गरिबी, अशिक्षा लहलहै लगायत कारण बालविवाह हुने गरेका छन् । बालविवाह गराउनेलाई सजाय दिने हो भने यसको सन्देश सकारात्मक जाने राष्ट्रिय बाल अधिकार परिषद्का विशेषज्ञ ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

धर्मगुरुहरूले भने बालविवाहको रोक्न पाठ्यपुस्तकमा चेतनामूलक सामग्री राख्न सुझाव दिएका छन् । पाठ्यपुस्तकमा बालविवाह गर्दाका बेफाईदा र कानुनको कुरा समेट्ने हो भने बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने अन्तर धार्मिक मञ्चका पूर्व अध्यक्ष भिक्षु आनन्दले बताउनुभयो ।

२० वर्ष नपुगी गरिएको विवाहलाई कानुनले मान्यता दिँदैन । यसबारेमा अभिभावक, समाजसेवी र सरोकारवाला जानकार भएपनि सानैमा विवाह गरिदिने परम्परा समाजबाट हट्न सकेको छैन । यो गलत परम्परा हटाउन स्थानीय सरकारले विशेष अभियान चलाउनुपर्ने बालबालिकाहरूको माग छ । सीआईएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*