उपनिर्वाचनमा संलग्न हुने ५ हजार ५५२ जनाको सामूहिक दुर्घटना बीमा 

छहारी संवाददाता
मंसिर ८, २०७६

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको मंसिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने ५ हजार ५५२ जनाको विभिन्न अवधिका लागि सामूहिक दुर्घटना बीमा गरिएको छ ।

उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको २० लाख रुपैयाँको बीमा गरिएको छ । उपनिर्वाचनमा मतदान केन्द्रमा २ हजार ६८४ कर्मचारी तथा २ हजार १३४ जना स्वयंसेवक खटिने छन् ।

कास्की, दाङ, बाग्लुङ, सुनसरी र भक्तपुर मतगणना गर्ने कर्मचारीको संख्या ८० रहेको छ भने अन्य जिल्लाका लागि ३४४ र मतदाता शिक्षा कार्यकर्ता ३१० जना परिचालन गरिएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा ४ वटा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षणका अनुमति पाएका छन् । अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग), नेपाल आवाज, दीपेन्द्र कँडेल इनिसिएटिभ र राष्ट्र निर्माण मञ्च नेपाल रहेको निर्वाचन आयोगले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*