सर्वोत्कृष्ट काव्य पुरस्कार कुन्ता शर्मालाई प्रदान

छहारी संवाददाता
मंसिर ३, २०७६

चर्चित साहित्यकार कुन्ता शर्माले सर्वोत्कृष्ट काव्य पुरस्कार प्रदान गरिएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको वासिन्टन डीसीमा आयोजना गरेको एक समारोहबीच साहित्यकार शर्मालाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार कवि शर्माको ‘मेरो मान्छे’ कविता संग्रहका लागि प्रदान गरिएको अनेसासले जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक २ वर्षमा प्रदान गर्ने यो सर्वोत्कृष्ट काव्य पुरस्कार एरिजोना निवासी अनेसास बोर्ड अफ ट्रस्टिज (बीओटी) का पूर्वउपाध्यक्ष रोहिणी शर्माले स्थापना गरेका हुन् ।

अमेरिकाको वासिंटन डीसीमा आइतबार आयोजना गरिएको कार्यक्रमको शुभारम्भ गर्दै अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की तथा बीओटी अध्यक्ष गीता खत्रीले शर्मालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सोही समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई अमेरिकी डलर २५०० राशीको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, अमेरिकी डलर २००० राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट नेपालका कथाकार नरेन्द्रराज पौडेल रोबोटका आँखा नामक कथासंग्रहलाई प्रदान गरिएको छ ।

यसै गरी अमेरिकी डलर ११०० राशीको अनेसास स्व. दिल–लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार छाप्रो नं. ५५ नामक उपन्यासका लागि भुटानबाट प्रवासी जीवनका क्रममा नेपाल हुँदै हाल अमेरिकामा रहेका युवा उपन्यासकार रमेश दियालीले प्राप्त गरेका छन् ।

अनेसास डा। श्याम कार्की–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार यस वर्ष नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ । ५०० अमेरिकी डलरको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार यस वर्ष नमिता बरालको आँगन गजल संग्रहले पाएको छ ।

यस्तै, ५०० डलर राशीकै अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट संस्कृति अनुसन्धान पुरस्कार मस्टो संस्कृति नामक सांस्कृतिक अनुसन्धानमुलक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रादन गरिएको छ । महिला खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*