सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागद्धारा तीन मेडिकल कलेजमा छापा

शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन अनुसार सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारेको छ ।
श्रोतका अनुसार विभागले आइतबार चितवन मेडिकल कलेज (चितवन), नेशनल मेडिकल कलेज (वीरगञ्ज) र नोबल मेडिकल कलेज (विराटनगर)मा छापा मारेको हो ।
चितवन मेडिकल कलेजले छापा मारेको अस्वीकार गरेपनि नोबेल मेडिकल कलेजले भने सामान्य सोधपुछको लागि विभागको टोली आएको स्वीकार गरेको छ ।
विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको मन्त्रालय स्रोतले बताएको छ । यस विषयमा कुनै सम्झौता नगर्ने गरी काम गर्न विभागलाई निर्देशन दिइएको जनाइएको छ ।
पछिल्लो समय मेडिकल कलेजहरुले तोके भन्दा बढी शुल्क उठाएको भन्दै चौतर्फी विद्यार्थीहरु आन्दोलित छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने मेडिकल कलेजहरुलाई कारबाही गर्ने बताउनु भएको थियो । न्युज २४ अनलाइनबाट







