इँटाभट्टामा हालेर हत्या प्रकरणले लियो नया मोड 

मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको उनकी श्रीमतीको दाबी
छहारी संवाददाता
कार्तिक २२, २०७६

१२ वर्षअघि इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको उनकी श्रीमतीले दाबी गरेकी छिन् ।

बम विस्फोटमा घाइते भएका अख्तरसहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान वैदेशिक रोजगारीमा गएको र अहिले ज्युँदै रहेको भनेर निवेदन दिएपछि घटनाले नयाँ मोड लिएको हो ।

अख्तरकी श्रीमती आमना खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर आएको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ । 
आलमविरुद्ध सरकारी वकिलले बहस गरिरहेका बेला उनकी श्रीमती खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर इजलासमै पुगेकी थिइन् । अदालतले भने निवेदन दर्ता गरेको छैन । अहिले बहस चलेकाले उनको निवेदन नहेरिएको र त्यसलाई हेर्ने नहेर्ने भन्नेबारे पछि निर्णय हुने अदालतले जनाएको छ ।

रौतहटको राजपुर फरदवामा १२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा निलम्बित सांसद मोहम्मद अफताब आलम विरुद्ध जिल्ला अदालत रौतहटमा अहिले थुनछेक बहस चलिरहेको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

आलमलाई ३२ वर्ष कैद माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । उज्यालो अनलाइनबाट

आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । थुनछेकको बहसपछि मात्रै आलमलाई पुर्पक्षका लागि कारागार पठाएर वा सामान्य तारेखमा रिहा गरेर मुद्दा अगाडि बढाइने भन्ने टुंगो लाग्नेछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*