आजबाट कार्यक्षेेत्र खटिदै ९३ जना विद्यालय नर्स

सरिता दाहाल / एक विद्यालय एक नर्स कार्यक्रममा सहभागि हुन आजबाट ९३ जना नर्सहरू आफ्नो कार्यक्षेत्रमा खटिदै छन्।
प्रदेश सरकारको छनौटपछि आज बिहीबारबाट उनीहरू तोकिएको विद्यालयमा जिम्मेवारी लिएर खटिने भएका हुन्। सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले अघि सारेको एक विद्यालय, एक नर्स कार्यक्रम अन्तर्गत ९३ जना विद्यालय नर्सलाई नियुक्तीसँगै कार्यक्षेत्रमा खटाइएको हो।
गत आर्थिक वर्ष २०७५र०७६ मा नमुना योजनाका रुपमा अघि बढाइएको एक विद्यालय, एक नर्स कार्यक्रम अनुसार मन्त्रालयले लिखित, मौखिक र अनुभवका आधारमा सफल भएका विद्यालय नर्सलाई कार्यक्षेत्रमा खटाएको हो। गत आर्थिक वर्ष नमुना योजनाको रुपमा २० विद्यालयमा नर्स खटाइएको थियो।
कार्यक्रम सफल र प्रभावकारी भएसँगै मन्त्रालयले हाल ९३ जना विद्यालय नर्सलाई कार्यक्षेत्रमा खटाइएको छ। बाँकी ८ जनालाई अपूग स्थान छनोट गरेर खटाइने तयारी गरिएको स्वास्थ्य निर्देशक रमेश अधिकारीले जनाकारी दिए।
'एक विद्यालय, एक नर्स कार्यक्रम प्रभावकारी भएकोले अन्य प्रदेशले समेत सिको गरेका छन्,’ सामाजिक विकास मन्त्रालयका सामाजिक मन्त्री युवराज दुलालले भने। दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने मन्त्री दुलालले बताए।
स्वस्थ जीवनशैली निर्माणका लागि यो कार्यक्रम सुरु गरिएको मन्त्री दुलालको भनाइ छ। खटिएका नर्सहरूले तोकिएको विद्यालयहरूमा जीवनपयोगि स्वास्थ्य शिक्षादेखि भैपरि आउँदा आधारभूत स्वास्थ्योपचर सेवासमेत प्रदान गर्ने छन्।
(नेपालन्युजबाट )







