स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीको डिस्चार्ज

उपचारका लागि बुधबार ग्रान्डी अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनु भएको छ ।
साँझ ८ बजे डिस्चार्ज भई प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार पुग्नु भएको छ । २४ घण्टामा दुई पटक मिर्गौलाको डायलाइसिस गराउनु भएका ओली आफै हिँडेर अस्पतालबाट बाहिरिनु भएको सामाजिक संजालमा राखिएको तस्विरमा देख्न सकिन्छ ।
प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन हेमो डायलासिस गर्नु परेको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिनु भएको थियो ।
प्रधानमन्त्री ओलीको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं उहाँका निजी चिकित्सक डा. दिव्या सिंह शाह, वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवाली लगायतको टोलीले उपचार गरेको हो ।
बिहीबार दिनभर प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित मन्त्री तथा नेताहरु अस्पताल पुगेका थिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पछिल्लो एक वर्ष यता निरन्तर स्वास्थ्य जाँचमा हुनुहुन्छ ।
गएको वर्ष असोजमा पनि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच दिन राखेर उपचार गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गएको साउन र भदौमा २ पटक सिंगापुरमा लगेर उपचार गराइएको थियो ।
सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रधानमन्त्री ओली फर्कनुभएको थियो ।







