कप्तान खड्काले दिए राजिनामा

छहारी संवाददाता
अशोज २८, २०७६

नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले वि.सं. २०७३ बैशाखमा लगाएकाे निलम्वनबाट फुकुवा भएकाे भाेलिपल्टै कप्तान खड्काले खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो ।

कप्तान खड्का भन्नुहुन्छ “मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएकाे हुँ ।"

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुनुहुन्छ । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्नुभएको पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी समाल्नुभएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उहाँले कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*