निवर्तमान सभामुख महरा पक्राउ

छहारी संवाददाता
अशोज २०, २०७६

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पहरीले पक्राउ गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाण्डौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाट महरालाई पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी सभामुख निवास वालुवाटार पुगेका थिए ।

कर्मचारी रोशनी शाहीले गएको शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधी‍श ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पीडित भनिएकी कर्मचारी रोशनी शाहीको यसअघि नै स्वास्थ्य परिक्षण गरिसकिएको छ भने घटनास्थलमा भेटिएका सामग्रीको परीक्षण गर्न फरेन्सिक ल्याब लगिएको प्रहरीले जनाएको छ । महरालाई पक्राउपछि बलात्कार र महिला हिंसाबारे अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ ।

गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौं प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो ।

शुक्रबार बेलुका उहाँले महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दिनुभएको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नु भएको छ । उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*