निर्यात बढेसँगै मुलुकको व्यापार घाटा घट्यो
निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पछिल्लो दुई महिनामा ३ प्रतिशतले घटेको एक तथ्यांकले देखाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ प्रतिशतले बढेको छ ।
यस्तै व्यापार घाटा गत वर्षको समिक्षा अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७५÷७६ को दुई महिनामा नेपालले १४ अर्ब ६९ करोड ९० लाख २० हजार बराबरको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्ष ०७६/७७ को दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो अवधिको तुलानामा २५.८७ प्रतिशतले बढी हो ।
यस्तै आयात भने १.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजारको आयात गरेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधिमा आयात २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार मात्रै छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो वर्षको तुलनामासमग्र व्यापारको आकार भने ०.३९ प्रतिशतले बृद्धि देखिएको छ ।







