आज वडादशैंको सातौं दिन,घरघरमा फूलपाति भित्र्याइँदै

आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउनेछ ।
आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारी सहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याउने चलन छ ।
फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।
आज कालरात्री देवीको पूजा आराधना समेत गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने आज फूलपातीको दिनदेखि सुरु हुने गरेको छ । आज हेटौडाको भुटनदेवी मन्दिरमा पनि फूलपाती भित्राइएको छ ।







