नेपाल दक्षिण एसिया मै पहिलो खुला दिसामुक्त राष्ट्र बन्दै

हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय
छहारी संवाददाता
अशोज १३, २०७६

नेपाललाई आज एक विशेष समारोहकाबीच खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदैछ ।

दिउँसो १२ राष्ट्रिय सभागृहमा आयोजना हुने एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्नुहुनेछ ।

दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो राष्ट्र बन्नेछ । यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रममा रहेकाले त्यो लक्ष्य पूरा भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनिसकेको छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् ।

त्यस्तै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १ सय ९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा सात लाख ९३ हजार ९ सय ९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*