आजदेखि १५ दिन अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट भने हेरिने

छहारी संवाददाता
अशोज १३, २०७६

आजदेखी घटस्थापनादेखि पूर्णिमासम्म देशै भरका अदालत बन्द भएका छन् । विजयदशमीको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका न्यायालय बन्द हुने भएका हुन् ।

तर न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाई गर्नुपर्ने हुन्छ । जसका कारण यसपटक ७७ वटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत पनि शनिवारबाहेक खुल्ने छन् ।

अदालत खुलेपनि बन्दी प्रत्यक्षीकरणको रिटबाहेक अन्य मुद्दा भने हेरिने छैन । जिल्ला अदालतको हकमा पक्राउका लागि अनुमति दिने काम पनि गर्नेछ ।

अहिले प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि पनि अदालतबाट अनुमति लिनुपर्ने भएकाले सबै जिल्ला अदालत पनि निश्चित समयका लागि खुल्ला रहनेछन् । सर्वोच्च अदालतले शनिवार र दशैंको टीकाको दिनबाहेक अन्य विदाका दिनमा पनि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुल्ला राख्ने बताएको छ ।

सर्वोच्चको निर्णयलाई अनुसरण गर्दै उच्च अदालत र जिल्ला अदालतले पनि शनिवार र विजयदशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालतहरु खुल्ला राख्ने निर्णय गरेका छन् ।

बन्दी प्रत्यक्षीकरणको रीटमाथि सुनुवाई गर्नका लागि प्रत्येक अदालतले न्यायाधीश तोकेर काममा लगाएका छन् ।

सार्वजनिक विदा भएकै कारण कुनैपनि व्यक्ति गैरकानुनीरुपमा वा आवश्यकता नभएपनि थुनामा बस्नु नपरोस् भनेर न्यायालयले यस्तो व्यवस्था गर्ने गरेको थियो । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*