दशैं सुरु भएसँगै आजदेखी देशभर गाडीको रुटपरमिट खुल्ला

घटस्थापनाको दिन आजबाट देशभर चल्ने सार्वजनिक सवारी साधनका लागि इजाजत पत्र (रुट परमिट) खुल्ला गरिएको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै रुट परमिट खुल्ला गरेको हो । त्यस्तै १० चक्के भन्दा ठूला सवारी साधनलाई काठमाडौं प्रवेशमा पनि रोक लगाइएको छ ।
रुट परमिट खुल्ला भएपछि पूर्वमा चल्ने गाडीले पश्चिममा पनि यात्रु बोकेर जान पाउने छन् । रुटमा रोकतोक हुने छैन ।
यसरी चल्ने गाडीले कुनै एउटा रुटको परमिट लिएको भने हुनु पर्नेछ, रुट परमिट नलिई गाडी चल्न नपाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार पहिल्यै सुचना जारी गरिएकाले धेरैलाई जानकारी भइसकेको छ ।
खाद्यान्न, औषधि, कुहिने सामान, खसीबोका बोकेर आएका साधनलाई रोकिने छैन । निर्माण सामाग्री बोकेर आउने १० चक्केभन्दा ठूला सवारी साधनलाई रोकिने छ । नागढुंगा भएर आउने ठूला सवारी साधनलाई मात्र रोक लगाइएको महानिर्देशक हमालले बताउनुभयो ।
पहिल्यै सूचना जारी गरिएकाले मालबहाक साधन नआएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रशाद ढकालले बताउनुभयो ।
सीमा नाकाबाट आएमा ती साधन चितवनमै रोकिने छन् । एसएसपी डकालका अनुसार टिकट बुक गरेका यात्रु हिजोबाटै घर जान सुरु गरेका छन् ।
हिजो मात्र एक लाख १२ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । १३ हजार सवारी साधन यात्रु बोकेर गएको उहाँले जानकारी दिनुभयो । सीआईएन







