राज्यको दायित्व प्रत्येक नागरिकको साझा दायित्व होः मुख्यमन्त्री पौडेल

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले परिणाममुखी काममा मात्रै जोड दिने गरेको बताउनु भएको छ ।
प्रदेश तीनको प्रदेश विकास परिषद्को पहिलो वैठकलाई सम्बोधन गर्दै उहाँले परिणाम नआउने काम आफुहरुले कहिलै नगर्ने प्रष्ट पार्नुभयो ।
मुख्यमन्त्री पौडेलले राज्यको दायित्व प्रत्येक नागरिकको साझा दायित्व रहेको भन्दै सधैं नकरात्मक कुरा मात्र गरेर सामाजिक र आर्थिक समृद्धी नआउने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–'आफुले दायित्व निर्वाह गर्न कती भूमिका खेलेको छु भनेर पहिले आफ्नो समिक्षा गर्नुस् ।'
निजी क्षेत्रसंगको सहकार्य बिना मुलुक अघि बढ्न नसक्ने भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले नीजि क्षेत्रलाई समेटेर अगाडी बढेको दाबी गर्नुभयो ।
प्रदेश तीनको छुट्टै प्रदेश पुर्वाधार निर्माण कम्पनी बनाउन अन्तिम तयारी भइरहेको बताउँदै उहाँले प्रदेश स्तरका निर्माण कार्यहरु प्रदेशकै निर्माण कम्पनीले गर्ने जिकिर गर्नुभयो ।
यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश तीनमा विद्युतीय सवारी तथा अन्य यातायात सेवाहरु सञ्चालन गर्ने तयारी पनि प्रदेश सरकारले गरेको बताउनुभयो ।
वैठकमा प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव मुकुन्द पौडेल र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामराज बस्नेतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
वैठकमा प्रदेश तीनका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, मन्त्रालयका सचिवहरु लगायतको सहभागिता थियो ।
वैठकमा प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुँयाल, विकास परिषदका सदस्य कल्पना शर्मा, प्रदेशका प्रमुख सचिव तोयम राय लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वैठकमा सहभागी परिषदका सदस्यहरुले प्रदेश विकास परिषदले ल्याएको खाका सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।







