शिक्षा प्रणालीमा सुधारको खाँचोः उपराष्ट्रपति पुन

छहारी संवाददाता
अशोज ५, २०७६

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल शिक्षक महासंघद्वारा आज काठमाण्डुमा आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उहाँले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताउनुभयो ।

शिक्षक केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेका उहाँले औँल्याउनुभयो ।

उपराष्ट्रपति पुनले भोलिको देश तथा समाज कस्तो बनाउने भन्ने कुरामा शिक्षकको निकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आजको परिस्थिति तथा संसारलाई बुझेर त्यही अनुकूलको शिक्षण विधि अपनाएर आफ्ना विद्यार्थी तथा विद्यालयलाई उत्कृष्ट नतिजा ल्याउन निरन्तर क्रियाशील रहनु शिक्षकको दायित्व रहेको धारणा राख्नुभयो ।

उहाँले संविधानमा समाजवादको संकल्प गरेअनुसारको समान शिक्षा प्रणाली हुनुपर्ने उल्लेख गर्नुभयो । शिक्षा र स्वास्थ्यमा राज्यले सापेक्षित लगानी गरे पनि अपेक्षित सुधार आउन नसकेको उहाँले बताउनुभयो ।

उपराष्ट्रपति पुनले समाजवादी व्यवस्था, आम नेपालीमा समानताका लागि शिक्षामा समानता हुनका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारको विकल्प नरहेको उल्लेख गर्नुभयो । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*