धर्म निरपेक्ष देशमा गाई काटेर खान पाउनु संवैधानिक अधिकारः कानुनमन्त्री जमकट्टेल

प्रदेश तीनका संघिय मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले कुनै जातीले गाई काटेर खान पाउनु उसको संवैधानिक अधिकार रहेको बताउनु भएको छ ।
आज हेटौडामा भएको नेपाल आदिवाासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरको तेस्रो अधिवेशनमा उहाँले गाई राष्ट्रिय जनावर भएपनि कसैले काटेर खान्छ भने त्यो उसको संवैधानिक अधिकार भित्र पर्ने बताउनु भएको हो ।
देश धर्म निरपेक्ष भइसकेको अवस्थामा कसैको धर्म संस्कारलाई जवरजस्ती हटाउन खोज्नु संविधान विपरित रहेको उहाँको तर्क छ । उहाँले भन्नुभयो– 'गाई राष्ट्रिय जनावर हुनु आफ्नो ठाँउमा छ, तर खाई काटेर खान नदिनु अहिलेको संविधान विपरित हुन्छ ।'
तामाङ समुदायले आफ्नो टोलमा, आफ्नो इलाका गाई काटेर खाए भने आपत्ति जनाउनु नपर्ने टिप्पणी गर्दै उहाँले बाहुन क्षेत्रीको बस्तीमा प्रतिसोध वा रिसीइबी साध्न, द्वन्द फैलाउन गाई काट्ने गतिविधी भए त्यस्तालाई भने कार्वाही गर्नु पर्ने बताउनुभयो ।
अहिलेको सरकार यस्ता सानातिना कुरामा अल्झिन नहुने भन्दै मन्त्री जमकट्टेलले यस्ता विषय स्थानिय तहलाई जिम्मा दिनु पर्ने बताउनुभएको छ ।
आफ्नो पहिचान जोगाउन आफैले पहल गर्नु पर्ने बताउँदै मन्त्री जमकट्टेलले भन्नुभयो– 'संविधानमा नसमेटिएका जनजातिको पहिचानलाई कार्यान्वयन गर्ने मुद्दा यो यो हो भनेर आफैं प्रष्ट हुनुपर्छ ।'
अहिलको व्यवस्था सबैको हो भन्दै उहाँले कम्युनिष्ट सरकारले राम्रो काम गरेको भए जनताले अब आउने निर्वाचनमा फेरी मत दिएर जिताउने जिकिर गर्नुभयो । अन्यथा नेपाली कांग्रेसले सत्ता चलाउने र कम्युनिष्ट पार्टी प्रतिपक्षमा बस्ने उहाँको भनाई छ ।







