संविधान दिवसको अवसरमा ओपीडी टिकट निःशुल्क

छहारी संवाददाता
अशोज २, २०७६

संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपीडी) तर्फको टिकट निःशुल्क भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपीडीतर्फको टिकट बिहीवार निःशुल्क हुने जनाएको छ । साेहि अन्तर्गत हेटाैडा अस्पतालमा पनि अाेपिडि तर्फकाे टिकट निशुल्क भएकाे छ।

स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान गरिरहेका छन् ।  
 

मन्त्रालयले  संविधान कार्यान्वयन भएपछि बिहीवार पहिलोपटक ओपीडीतर्फको टिकट निःशुल्क गरेको हो । यसबाट विपन्न समुदायका बिरामीले थप राहत पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेले जानकारी दिए । उनले भने, ‘जुम्ला अस्पतालले गरीब, विपन्न जनतालाई कुनै शुल्क नलिई उपचार गरिरहेको छ ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा दैनिक ओपिडीतर्फ ७ सयदेखि १ हजार १ सयसम्म बिरामी सेवा लिन आउँछन् । ‘हामीले ओपिडीतर्फको टिकट निःशुल्क गर्छाैं,’ अस्पतालका निर्देशक प्रा.डा. केदार सेञ्चुरी भन्छन् ।

विक्रम संवत् १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरू गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबीबिएस, एमडीलगायत विभिन्न तह, विषयमा उच्च शिक्षा  पठनपाठन तथा तालीमका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ । 

संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित नगरिने, व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने र  नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रावधान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*