मिस्टर मकवानपुर विजेतालाइ पुरस्कार माेटरसाईकल

मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशनले तेस्रो मिस्टर मकवानपुरको तयारी थालेको छ ।
विभिन्न तौल समूहमा हुने उक्त प्रतियोगिताको विजेताले मोटरसाईकल प्राप्त गर्ने जनाइएको छ ।
आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराउँदै हेटौंडास्थित क्लब हेटौंडा पार्टी प्यालेसमा आगामी असोज ८ र ९ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रत्येक समुह विजेताहरुलाई १०/१० हजार रुपैयाँका दरले नगद पुरस्कार दिइने आयोजक मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशनका अध्यक्ष राजेश भेटवालले बताउनुभयाे ।
त्यस्तै पहिलो मिस कलिउडका विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपको प्रस्तुती (फेसन शो)हुने र उनीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष भेटवालले जानकारी दिएका छन् ।
असोज ८ गते प्रतिस्पर्धीहरुको तौल लिने लगायतको तयारी हुने र ९ गते ४ बजेदेखि सम्मान, प्रस्तुती, विजेता घोषणा लगायतका कार्यक्रम सुरु गरिने मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशनका सचिव सुजन श्रेष्ठले बताउनुभयाे ।
हेटौंडा स्कूल अफ म्यानेजमेन्ट मुख्य प्रयोजक रहेको कार्यक्रममा अन्य संस्था तथा व्यक्तिहरुबाट पनि सहयोग जुटाइने आयोजकको योजना छ । कार्यक्रममा करिब ९ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिता विजेताले मोटरसाइकलका साथै ५ लाख बराबरको विमा पनि पाउने छन् । फस्ट रनर अप र सेकेन्ड रनर अपलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
५/६ वटा तौल समूहमा प्रतिस्पर्धाहरु हुने र कम्तीमा पनि मकवानपुर जिल्लाका ३० भन्दा बढि वडी विल्डर्स सहभागी हुने अनुमान आयोजकको छ ।
प्रतियोगीहरुले १ हजार रुपैयाँ तिरेर नाम दर्ता गराउन सक्नेछन् । मकवानपुर जिल्लामा फिटनेश सम्बन्धी १३ वटा क्लब र १६ सयभन्दा बढी सदस्य रहेको अनुमान गरिएको छ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती राखिएको अध्यक्ष भेटवालको भनाई छ ।







