मकवानपुरमा गाँजा खेती निर्मूल पार्न प्रहरी सक्रिय(तस्विरहरु)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सीराङ गाउपालिकाका विभिन्न स्थानमा गरिएको लागुऔषध गाँजा खेती आज नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहको कमाण्डमा खटिएको टोलीले राक्सीराङ २ को कालिधाप, चनौटा र निग्रानमा स्थानियले ३ बिघा २ कठ्ठामा अवैध रुपमा लागाएको गाँजा खेती आज नष्ट गरेको हो ।
निग्रानमा २ विघा, चनौटामा १ बिघा र कालिधापमा २ कठ्ठामा गरिएको गाँजा खेती नष्ट गरिएको हो ।
प्रहरीको टोली देखेर एक किसानले आँफै गाँजाको बोटहरु फाड्न थालेका थिए भने केहि गाँउ नै छाडेर भागेको पनि भेटिएको थियो ।
एसपी सिंहले त्यहा उपलब्ध स्थानियलाइ गाँजाले हुने बेफाइदा, गाँजा खेती र कारोबार गर्दा हुने दण्ड सजायका बोरमा सचेत गराउनुका साथै अन्य खेती तर्फ लाग्न आग्रह पनि गर्नु भएको थियो ।
राक्सीराङमा गााजा खेती नष्ट गर्ने अभियान ५ दिनसम्म चल्ने एसपी सिंहले जानकारी दिनुभयो । ७५ जना प्रहरीको टोली बनाई त्यस स्थानमा खटाइएको उहाँले बताउनुभयो । टोलीले ५ दिनसम्म त्यस स्थानमा रहेर गाँजा खेती निर्मूल पार्ने उहाँको विस्वास छ ।
गाँजा नष्ट गर्ने कार्यमा जिप्रका मवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराई, ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ लगायतको टोली खटिएको थियो ।
यसअघि भदौ १५ गते ६० जना प्रहरीको टोलीले राक्सिराङ गाउँपालिका ३ का विभिन्न स्थानमा लगाइएको गाँजाका बिरुवा र ब्याड नष्ट गरेको थियो ।







