१५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्यो

नेपाली कामदारको लागि मलेसियाको रोजगारी खुलाउने सहमति भएको छ ।
नेपाल र मलेसियाबीच श्रम समझदारी अनुरुप वाँकी रहेका विषय टुङ्गो लगाउन दुई देश बीचको प्रविधिक कमिटि बैठकमा यस्तो सहमति भएको हो ।
मलेसियास्थित पुत्राजयमा अस्ति मंगलबारबाट सुरु भएको दुई देश बीचका प्रतिनिधि सहभागी बैठकले नयाँ प्रस्ताव गरिएका ८६ स्वास्थ्य संस्थालाई स्वास्थ्य जाँचका लागि तत्काल अनुमती नदिने सहमति गरेको छ ।
यो सहमतिसँगै यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै ३६ स्वास्थ्य संस्थाले मात्र हाललाई स्वास्थ्य जाँच गर्न पाउनेछन् ।
मलेसियाले अगामी नोभेम्बर पहिलो हप्ताबाट प्रस्ताव गरिएका नयाँ स्वास्थ्यसंस्थालाई वार्षिक अडिट प्रक्रियामा लैजान सहमति जनाएको बैठकमा सहभागी नेपाली टोलीका संयोजक एवम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरेले मलेशियाबाट जानकारी दिनुभयो ।
नेपाल र मलेसियाबीच गत कात्तिकमा भएको ऐतिहासिक श्रम समझदारी कार्यान्वयनमा जानेगरी सहमती भएको घिमिरेले बताउनुभयो । उहाँका अनुसार सुरक्षा गार्डको आपूर्तिका लागि पनि श्रम समझदारी अनुरुप नै प्रकृया सुरु गर्ने सहमति भएको छ ।
नेपालले घरेलु कामदारको विषयमा छुट्टै कानुनको माग गरेको बताउँदै हाल मलेसियाले पठाइएको मस्यौदा अध्ययन गरिएको उहाँले बताउनुभयो ।
मलेसियन उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोली वार्तामा बसेका थिए । सीआईएन







