प्रदेश तीनमा ‘सबै जागौं सबै लागौं वरीपरी जमेको पानी हटाई डेंगु भगाऔं’ अभियान

प्रदेश तीनका सबै स्थानीय तहमा 'सबै जागौ, सबै लागौ वरीपरी जमेको पानी हटाई डेंगु भगाऔं' भन्ने नाराका साथ डेंगु नियन्त्रण अभियान सुरु गर्न लागिएको छ ।
आगामी शनिवार देखि कार्तिक मसान्तसम्म प्रत्येक शनिवार बिहान ७ देखि ८ बजेसम्म अभियान चलाउन लागिएको सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री युवराज दुलालले डेंगु नियन्त्रणका लागि भएका प्रयास अपुग भएपछि मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
मन्त्री दुलालले हरेक स्थानीय तह र जिल्ला स्तरमा समन्वय गरेर सबैले आफ्नो क्षेत्रबाट यस अभियानमा जुट्ने हो भने प्रदेश बाटै डेंगुको अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री दुलालले सम्पूर्ण स्थानिय तहका संघ संस्था, टोल सुधार समिती तथा सर्वसाधारणलाई अभियानमा जुटुन आग्रह समेत गर्नु भएको छ ।
यसैबीच मन्त्री दुलालले प्रदेश तहका अस्पतालमा डेंगु परिक्षण गर्ने किटको अभाव नभएको दाबी गर्नु भएको छ ।
भाइरल जरोका बिरामीले समेत शंकाको भरमा जबरजस्ती डेंगुको जाँच गर्ने भएकाले अभाव देखिएको उहाँको भनाई छ ।
मन्त्री दुलालले प्रदेश मातहतमा ६ वटा जिल्ला अस्पतालमा डेगु संक्रमितका लागि संघिय सरकारको सहयोगमा ५० ओटाका दरले झुल वितरण गरिएको समेत जानकार दिनुभएको छ ।
प्रदेश तीनमा झन्डै ४ हजारमा डेंगुको संक्रमण
प्रदेश तीनमा हालसम्म ३ हजार ७ सय ६६ जनामा डेंगुको संक्रमण फेला परेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश तीनका १३ जिल्ला मध्ये नौ ओटा जिल्लामा डेंगुको संक्रमण फेला परेको जानकारी दिनुभयो ।
सबै भन्दा वढी चितवनमा १ हजार ४ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ भने काठमाण्डौमा १ हजार ३ सय ४५ जना र मकवानपुरमा ७ सय २८ जनामा डेंगुको संक्रमण फेला परेको मन्त्री दुलालले बताउनुभयो ।
अन्य जिल्लाहरु ललितपुरमा १ सय ५, भक्तपुरमा ९६, धादिङमा २३, काभ्रेपलान्चोकमा ६, नुवाकोटमा २ र सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।







